काठमाडौँ – कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बीचमै अलपत्र पारेको र खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।
बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले फाउन्डेसनविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।
अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा उजुरी दर्ता गराएका हुन् । फाउन्डेसनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ ।
अहिलेसम्म रंगशालाको १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । अरु सबै काम ठप्प छ । रंगशाला निर्माण गर्दा १७ करोड उधारो पुगेपछि धुर्मुस र सुन्तलीले धेरै ऋण लाग्ने देखेर बीचमै छाडेका हुन् ।