शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारको निर्देशन विपरित ‘जंगी पोशाक’

सोमबार, माघ ३ २०७८

काठमाडौँ l गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । 

तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगबु र यसका संचालकलाई नौ लाख रुपैयाँ विगो, विगो बराबरको जरिवाना र आयात गरिएको माल जफतको निर्णय गरेको हो । 

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारदप्रसाद गौतमले गृह मन्त्रालयको निर्देशन बिपरित माल आयात गर्ने कम्पनीलाई भन्सार ऐन अनुसार कारबाही भएको पर्दाफासलाई बताए । उनले आफुले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कारबाही गरेको र बाँकी अन्य निकायले कारबाही गर्ने वा नगर्ने बिषयमा जानकारी नभएको बताए । 

‘आयातकर्ताले नै आवश्यक कारबाहीका लागि निवेदन दिएका थिए,’ प्रमुख भन्सार अधिकृत गौतमले पर्दाफाससँग भने, ‘ हामीले कारबाही गरेर माल जफत गरेका छौं, अन्यका हकमा जानकारी भएन।’

उनका अनुसार सेनाको ड्रेससँग मिल्ने २९ सय मिटर कपडा नाकामा आइपुगेको हो । ‘यस्तो कपडा सेनाबाहेक अन्यले आयात गर्न नमिल्ने भएकाले जाँचपास रोकेर अनुसन्धान गरेका थियौ,’ गौतमले भने, ‘गृह मन्त्रालयलाई जानकारी गराएका थियौं ।’

तातोपानी नाकामा बरामद ‘जंगी पोशाक’ ले खुलायो ठेक्काभित्रका रहस्य

तातोपानी भन्सारले गृह मन्त्रालय र सेनासँग बरामद कपडाका बिषयमा सोधपुछ गरेपछि यतिबेला प्रहरीको र सेनाको बेग्लाबेग्लै टोलीले नाकामा बरामद जंगी पोशाकको बिषयमा अनुसन्धान गरिरहेका छन् ।

प्रहरीको उच्च स्रोतका अनुसार अहिलेसम्म त्यस्तो कुनै पुष्टि हुन सकेको छैन् । चुस्ताको क्यारिङ गर्ने सतिदेवी इन्टरप्राइजेज गोंगबुका संचालक इश्वर न्यौपानेसँग प्रहरीले गरेको सोधपुछमा उनले त्यो कपडा काठमाडौंका ब्यापारीले मगाएको बताएका छन् । 

‘सरकारले २०७६ मै जंगी पोशाक आधिकारीक बाहेकले लगाउन, ल्याउन र लगाउन रोक लगाएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसरी अवैध रुपमा किन भित्राउन खोजियो भन्ने आशंकापछि अनुसन्धान गरिरहेका छौं । ’ 

गृह मन्त्रालयले १३ साउन २०७६ मा सुरक्षाकर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर आपराधिक गतिविधिमा संलग्न हुने घटना बढेपछि सेनाको आग्रहमा रोक लगाएको थियो । गृहको पत्रमा सेनासँग मिल्दो कपडा सुरक्षा गार्डदेखि सर्वसाधारणसम्मले लगाउन थालेको भन्दै सेनाले पत्र लेखेको थियो । (स्रोत : पर्दाफास डटकम)