काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को लागेको छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक देखिन्छ ।
दशगजामा दुवैतिर सघन बस्ती भएकाले सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गए आएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे रोजगारीबाट भित्रिएका हुन् भन्ने तथ्याङ्क राख्न कठिन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको भनाई छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटो बाटो भएर भित्रिएकाले पनि तथ्यांक लिन समस्या भएको हो ।
जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।
भारतमा सङ्क्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने बढ्दै जानु र त्यहाँका नाकामा भिठ्ठामोरबाहेक अन्त कतै स्वास्थ्य हेल्पडेस्क सञ्चालन हुन नसकेको अवस्थाले सङ्क्रमण बढ्न सक्ने सन्त्रास बढेको छ । मानिस भित्रिने नाकामा कडाइ गर्दै स्वास्थ्य हेल्पडेस्क स्थापना र सञ्चालन गर्न स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा संयन्त्रबीच समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।