बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुँगुरको मुटु मानिसमा प्रत्यारोपण सफल

मंगलबार, पुष २७ २०७८

काठमाडौँ l चिकित्सकहरूले मानिसमा सुँगुरको मुटु प्रत्यारोपण गर्न सफलता पाएका छन्। अमेरिकी नागरिक ५७ वर्षीय डेभिड बेनेट ‘जेनेटिकल्ली मोडिफाइड’ सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो भाग्यमानी बनेका छन्।

अमेरिकाको बाल्टिमोरमा सात घण्टाको प्रयासपछि यो सफलता प्राप्त भएको हो। मुटु प्रत्यारोपण नै डेभिडको जीवन बचाउने एक मात्र उपाय थियो। प्रत्यारोपणपछि उनी लामो समय बाँच्न सक्छन् भन्ने प्रष्ट छैन।

शल्यक्रियाअघि डेभिडले भनेका थिए, ‘यो प्रत्यारोपण मेरा लागि जीवन र मृत्युको सवाल हो। यो अँध्यारोमा हानिएको ढुंगो हो भन्ने मलाई जानकारी छ तर यो मेरो अन्तिम रोजाइ पनि हो।’

मेरिल्यान्ड मेडिकल सेन्टर विश्वविद्यालयका चिकित्सकहरूलाई यो प्रत्यारोपणका लागि अमेरिकी मेडिकल नियामक निकायले विषेश छूट दिएको थियो। प्रत्यारोपणबाहेकको अवस्थामा डेभिडको ज्यान जोखिममा थियो।

उनको शरीर मानव मुटु प्रत्यारोपणका लागि अयोग्य मानिएको थियो। उनको स्वास्थ्य अवस्था अत्यधिक जटिल बनेपछि सुँगुरको मुटु प्रत्यारोपण गर्ने निर्णयमा चिकित्सकहरू पुगेका थिए। यो प्रत्यारोपणमा संलग्न चिकित्सा टिमको वर्षौँको शोधको परिणति हो, जसले भविष्यमा संसारकै जीवन बदल्न सक्छ।

‘अंग अभावको समस्या सधैँका लागि अन्त्य गर्ने दिशामा यसले संसारलाई एक कदम अगाडि बढाएको छ,’ शल्यक्रियामा संलग्न डा. बर्टले ग्रिफिटले भने। अमेरिकामा अंग प्रत्यारोपणको अभावमा दैनिक १७ जनाको मृत्यु हुने गरेको छ र एक लाखभन्दा बढी प्रत्यारोपणको ‘वेटिङ’ सूचीमा हुन्छन्।

‘जेनो ट्रान्सप्लान्टेसन’ भनिने यो विधिबाट अंग प्रत्यारोपणको माग पूरा गर्न सकिने चिकित्सकहरूको भनाइ छ। यसै पनि मानिसको मुटुमा सुँगुरको भल्भ राखिने पुरानै विधि हो।

अक्टोबर २०२१ मा न्युयोर्कका चिकित्सकहरूले मानिसमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरेका थिए।