काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।
तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि आगामी माघ १२ गते चुनाव हुदै छ । त्यसका लागि प्रदेश २ मा दुईवटा मतदान स्थल र अरु प्रदेशमा एक एक मतदानस्थल तोकिएका छन् । चुनावका लागि २०२५ जना मतदाताको नामावली स्विकृत भइसकेको छ ।
आयोगले राष्ट्रिय सभा सदस्य चुनावमा सहभागी हुने दलहरुलाई हिजै चुनाव चिह्न प्रदान गरिसकेको छ । राष्ट्रिय सभा सदस्य चुनावका लागि सातवटा प्रदेशमा ४३ जना उम्मेदवार खडा भएका छन् ।