शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विवेकशीलका नेता थापाको सम्झनामा सुरु भयो उज्जवल थापा फाउन्डेसन

शनिबार, पुष २४ २०७८

काठमाडौँ l विवेकशील साझा पार्टीका स्वर्गीय नेता उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनले शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी फाउन्डेसनको सुरुवात गरेको छ।

उज्वलको विरासतलाई कायम राख्न उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उक्त फाउन्डेसनलाई एक गैर नाफामूलक, गैर राजनीतिक पहलको रूपमा सुरुवात गरेका हुन्।

फाउन्डेसको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथीहरू तथा शुभेच्छुकहरूले उज्वलको उपचारको लागि संसारभरका २,८०० भन्दा बढी शुभेच्छुकहरूले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको ४२ लाख रूपैयाँ भन्दा बढी रकम सातओटा गैर सरकारी/गैर नाफामूलक संस्थाहरूलाई वितरण गरेका थिए।

२०७८ सालको असारमा उज्वलको घरमा गरिएको एक कार्यक्रममाझ यी सातओटा संस्थाहरूलाई रकम हस्तान्तरण गरिएको थियो। सर्लाहीको भोर नेपाल; ललितपुरको हार्टबिट; कपिलवस्तुको मधेश ह्युमन राइट्स होम; काठमाडौँका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र; कालिकोटको ओदा फाउन्डेसन तथा विरगञ्जको सानो पाइलाहरू सहयोग प्राप्त गर्ने संस्थाहरू हुन्।

अधिकांश संस्थाहरूले उज्वल स्मृति कोषबाट प्राप्त गरेको रकमबाट सम्झौता अनुरूपको आफ्ना काम भ्याएसकेका तथा बाँकी रहेका संस्थाहरूले यस वर्षको अन्त्यसम्ममा भ्याउने अपेक्षा गरिएको बताइएको छ। यस फाउन्डेशनले, उज्वलले आत्मसात गरेका मूल्य मान्यतालाई अभ्यास गर्न प्रयास गर्नेछ र समाजलाई उनका योगदानहरूको बारेमा जानकारी गराउने बताइएको छ।