काठमाडौँ l राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार गरको केन्द्रीय सदस्य मनोनयनमा पूर्व अध्यक्ष कमल थापाको आपत्ति जनाएका छन् l
सामाजिक संजालमार्फत थापाले चुनाव हारेका र जनाधार नभएका नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै लिङ्देनले गरेको मनोनयनमा आपत्ति जनाएका हुन् ।
उनले एकपक्षीय र पूर्वाग्रही रूपमा मनोनयन गरेको भन्दै भत्सर्ना गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन दिनअघि दुई दर्जन बढीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । सोही मनोनयनप्रति नेता थापाले आपत्ति जनाएका हुन् ।
‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु। ३३प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ।
जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।