काठमाडौँ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको प्रभाव सेयरबजारका ठूला लगानीकर्तामा देखिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो कर्जामा कडाई गरसँगै ठूला ऋणीको कर्जा बैंकहरुले घटाउन थालेका छन् । बैंक तथा वित्त संंस्थाले एक ब्यक्तिलाई पुरै वित्तीय प्रणालीबाट १२ करोड र एकै बैंकबाट ४ करोड भन्दा बढि लगानी गर्न पाउँदैनन् ।
जसको फलस्वरुप पछिल्लो समय यस्तो क्षेत्रमा जाने कर्जामा कमि आएको देखिन्छ । नेपाल राष्ट्र बैंकको आकडा अनुसार यस्तो कर्जा चार महिनाको अवधिमा ४ दशमलव एक प्रतिशतले कम भएको छ ।
गत असारसम्ममा बैंक तथा वित्त संस्थाले सेयरबजारमा १ खर्ब ६२ अर्ब लगानी गरेका थिए । जुन लगानी गत कात्तिकमा आउँदासम्ममा ४ अर्ब ३३ करोडले कमि आउँदै १ खर्ब १९ अर्बमा सिमित भएको छ।
बिशेषगरि एक करोड भन्दा माथिको कर्जामा यस्तो संकुचन आएको हो । १ करोड भन्दा माथिको यस्तो कर्जा अहिले १० दशमलव सात प्रतिशतले घटेको नेपाल राष्ट्र बैंक बताउँछ । ७ अर्ब ८४ करोडले सेयर बजारमा जाने १ करोडभन्दा माथिको लगानी घटेको छ ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ठूलो खालका लगानीमा बैंकहरुले साइज घटाउन खोज्दा ठूलै परिमाणमा गएका ऋणहरु घटेका देखिएका हुन् । तर ५० लाख देखि १ करोड रुपैयाँसम्मको ऋण ५ दशमलव सात प्रतिशतले र २५ देखि ५० लाखसम्ममो १२ दशमलव तीन र २५ लाख सम्मको १६ प्रतिशतले कर्जा बढेको छ ।
अर्थात ठूला सेयर लगानीकर्ताको ऋण घटाएका बैंकहरुले साना सेयर लगानीकर्तामा प्रवाह गर्ने ऋणमा भने कमि ल्याएका छैनन् । राष्ट्र बैंकको नीतिले सिमित सेयर लगानीकर्ताले बैंकको रकम उपयोग गर्नेमा कमि ल्याउँदै साना लगानीकर्तामा भने लगानी बढाएको देखिन्छ ।
अहिलेसम्म सेयरबजारमा बै.क तथा वित्त संस्थाले करिब १ खर्ब बराबरको लगानी गरेको देखिन्छ ।