काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सर्वसम्मतले पारित भएको छ । स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै बन्द सत्र हलले ताली बजाएर पार्टी विधान पारित गरेको हो ।
सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गरिने गुरुङले बताए । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।
केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १५ प्रतिशत मनोनित गर्ने भनिएको छ । यसअघि १० प्रतिशत मनोनित गर्ने प्रस्ताब थियो ।
महाधिवेशनले केन्द्रीय कमिटीको चयन गर्ने छ भने केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्वलाई सुनिश्चित गरिने भएको छ ।
विधान पारित गरे लगत्तै अहिले पार्टीको स्थायी समिति बैठक बसिरहेको छ। बैठकले पदाधिकारीको संख्या टुंगो लगाउने बताइएको छ ।
यसअघि विधान पारित गर्न बसेको आजको बन्दसत्रमा पदाधिकारीको संख्याबारे फरकफरक सुझाव आएको थियो।