काठमाडौँ l नेकपा माओवादी केन्द्रको राजधानीमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत टोलीका नेताहरुले पार्टीका नेता एवं अध्यक्ष समक्ष गुनासो पोखेका छन् l
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल पश्चातको निष्कर्षमा टोली नेताहरुले नेताको जीवनशैली, कार्यकर्ताको मूल्यांकन विधि, पार्टी सरकारमा पुगेपछि जनमूखी हुन नसकेको, एमालेसँगको एकता लगायतका विषयमा गुनासो पोखेका हुन्।
साथै माओवादी छाडेकाहरुलाई ‘गद्दार’ घोषणा गर्ने माग पनि बन्दसत्रमा टोलीका नेताहरुले उठाएका छन्।
टोली नेताहरुले पूर्ण समानुपातिक निर्वाचिनमा प्रणालीमा जानुपर्ने सुझाव पार्टीलाई दिएका छन्। प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणाली खर्चिलो भएको र यसले भ्रष्टाचार बढाएको निष्कर्ष निकाल्दै माओवादीले अघि सार्दै आएको समानुपातिक प्रणाली र कार्यकारी राष्ट्रपतिको पक्षमा टोली नेताले निष्कर्ष सुनाएका हुन्।
बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रदेश २ बाट सत्यनारायण भगत, बागमती प्रदेशबाट सरल सहयात्री, गण्डकी प्रदेशबाट गायत्री गुरुङले छलफलको निष्कर्ष बन्दसत्रमा पेश गरे।
त्यस्तै कर्णाली प्रदेशबाट विमला केसी र सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर, आयोगको तर्फबाट टंक राई, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, केन्द्रीय विभागबाट गीता पनेरुले आफ्नो समूहको ब्रिफिङ गरेका छन्।