काठमाडौँ l नेपाली काँग्रेस २ नम्बर प्रदेश अधिवेशनमा दुई पक्षीय विवाद चर्किंदा झडप भएको छ । निर्वाचन प्रक्रियालाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद झडपमा परिणत भएको हो ।
प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो।
रामसरोज बिहीबार चुनाव गर्नुपर्ने पक्षमा छन् भने कृष्ण बुधबार नै निर्वाचन हुने पक्षमा उभिएका छन्। रामसरोज पक्षले गृहमन्त्री र कृष्ण यादव पक्षले रामसरोज यादव विरुद्ध नाराबाजी गरिरहेका छन्।
रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन्। झडपका क्रममा कुर्सीसमेत तोडफोड भएको छ। निर्वाचन समितिले चुनावका लागि मतपत्र भने छपाएर ल्याइसकेको छ। विवादकै कारण अन्य प्रदेशमा अधिवेशन सम्पन्न भए पनि यस प्रदेशमा हुन सकेको छैन।
जनकपुरस्थित गोपाल धर्मशालामा जारी बन्दसत्रमा आज बिहान मतदानको कार्यक्रम थियो । तर, अहिलेसम्म मतदान प्रक्रिया शुरु हुन सकेको छैन ।