शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आखिर कुन मौकाको पर्खाइमा छ निर्मल निवास?

बुधबार, पुष ७ २०७८

काठमाडौं । डेढ दशकअघि जबरजस्त रुपमा घोषणा गरिएको गणतन्त्र उल्टिन्छ भन्ने त्रासमा छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। प्रतिनिधि सभामा ठूलो हिस्सेदार रहेको नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीमार्फत नै राजतन्त्र स्थापना हुन सक्ने आँकलन उनले आन्तरिक पार्टी कमिटी र सत्ता गठबन्धनको बैठकमा ब्रिफिङ गर्न थालेका छन्।

पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राजेन्द्र लिङ्देनको उदय पनि ओलीसँगको सहकार्यमा हुन लागेको भन्ने प्रचण्डको आशंका छ। लिङ्देनलाई नेतृत्वमा ल्याउनका लागि निर्मल निवासको साथ रहेको बताइएको छ।

एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको भनी दिएको अभिव्यक्तिको चर्चाले पनि निर्मल निवास कुनै मौकाको पर्खाइमा रहेको भन्ने प्रचण्डको बुझाई छ। ‘राजसंस्था पुनःस्थापना हुन सक्ने आशंकामा प्रचण्ड छन्। उनलाई यहि कुराले पिरोलेका कारणले ओलीको अभिव्यक्तिको खण्डन गरेका हुन्’, उच्च स्रोतले भन्यो।

गणतन्त्र घोषणायता पूर्वराजा ज्ञानेन्द्रले पनि सात दलसँग सहमति भएको वक्तव्य विभिन्न अन्तरवार्तामा दिँदै आएका थिए। जनताले चाहेको खण्डमा जिम्मेवारी लिन तयार रहेको भन्ने पूर्वराजाको भनाई पूरा गर्न राजनीतिक अस्थिरता र नेताहरूको अकर्मण्यताको परिणामलाई निर्मल निवासले मौकाका रुपमा हेरेको छ।

स्रोतले भन्यो,‘अहिले राजावादीको शक्ति उदय हुनु, सडकमा राजाको पक्षमा नारा जुलुस र र्याली पनि बढिरहनु यसैका उदाहरण हो। अब कतिबेला राजनीतिको यो फोहोरी खेल उदांगो हुन्छ भन्ने मौका सबैले हेरेकै छन्। राजाले पनि हेरिरहेका होलान्।’