काठमाडौँ । महंगीले धनि बर्गलाई खासै मार पार्दैन । यसको ठूलो असर भनेको निम्न मध्यबर्गिय र गरिबलाई हो । जागीर होस् वा त दिनभरको मजदुरी गरेर खाने बर्ग यति बेला महंगीको मारमा चुर्लुम्म डुबेको छ ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको एक रिपोर्ट अनुसार २०७८ कात्तिक महिनामा मूल्यबृद्धि ५.३२ प्रतिशत रहेको देखिएको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो ।
कात्तिक महिनामाा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको देखिएको छ ।
त्यसैगरि २०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, २९.११ प्रतिशत, यातायात १२.३६ प्रतिशत, माछा तथा मासु १०.९१ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ १०.७० प्रतिशतले भाउ बढेको नेपाल राष्ट्र बैकले जनाएको छ ।
२०७८ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.६८ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.४१ प्रतिशत रहेको थियो ।
महंगीले थिचेका बेलामा गरिब कामदार तथा कर्मचारीले पाउने ज्याला भने जम्मा ३.७७ प्रतिशतले बढेको राष्ट्र बैंक बताउँछ । जबकी यहि समयमा मूल्यबृद्धि ५.३२ प्रतिशतले बढेको छ । अर्थात कमाएको ज्यालाले अब मजदुरलाई खान समेत कठिन हुन लागेको देखिएको छ ।
तर समग्र २०७८ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.०३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ०.८५ प्रतिशतले बढेको थियो ।
कात्तिक महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ३.७७ प्रतिशतले बढेको छ ।
भारतमा भन्दा नेपालमा महंगीको बृद्धि बढि देखिन्छ । २०७८ कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ५.३२ प्रतिशत र सन् २०२१ नोभेम्बरमा भारतमा ४.९१ प्रतिशत रहेको छ ।