काठमाडौँ । नयाँ बानेश्वरस्थित ससंद् भवन अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन् ।
एमसीसी संसद्बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिएका छन् ।
माइतीघरबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर पुगेको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
प्रहरीले भने प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि बल प्रयोग गरेको बताएको छ । प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका केन्द्रीय सदस्य माइला लामाले गरेका हुन् ।
एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिको आयोजनामा भएको आजको प्रदर्शनमा नेपाल नागरिक अभियानका सचिव हरिहर घिमिरे, सामाजिक अभियन्ताहरु मनिष श्रेष्ठ, विनयजंग बस्नेत, हेमराज थापालगायतको सहभागिता रहेको बताइन्छ ।
झण्डै पाँच सय जनाको सहभागितामा प्रदर्शनकारीले २ बजे बोलाइएको संसद बैठक रोक्ने र संसद भवन घेर्ने भन्दै नारा लगाएका थिए । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि पुगेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।