काठमाडौँ l नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन्।
सभापति पदका लागि दोस्रो चरणको मतदान साढे ३ बजे सुरु भएको छ। सभापतिका अर्का प्रत्यासी शेखर कोइराला मतदानस्थलमा भोट माग्दै हिडेका छन्।
पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको छ।
दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्।
समितिका अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए। कांग्रेसमा ४ हजार ७४३ मतदाता छन् ।