काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मध्यरातसम्म भएको मतदानपछि सुरु भएको मत गणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेको छ ।
सभापतितर्फको मतगणना विहान ४ बजेबाट सुरु भएको हो ।
राजधानीको राष्ट्रियसभा गृहमा जारी मतगणनामा ६०० मत गन्दा प्रत्यासी शेरबहादुर देउवाले २८८ मत पाएका छन् भने डा. शेखर कोइरालाले २१८ मत पाएका छन्।
कांग्रेसको नयाँ नेतृत्वका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत भन्दा बढी मत अर्थात २३४० मत आवश्यक पर्छ ।
कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ । सभापतिको परिणाम सार्वजनिक भएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना हुने छ ।
हिजो दिउसो १२ बजेदेखि भएको मतदान राति साढे १२ बजेसम्म चलेको थियो । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ ले भोट खसालेका छन् ।
महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।