शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मध्यरातमा सकियो मतदान , विहान तीन बजेसम्म पनि मतगणना हुन सकेन

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि मध्यरातमा मतदान सकिएको छ ।

तीन पटक सम्म समय थपिएको मतदान राती साढे १२ बजे सकिएको हो । मतदान सकिएसँगै २ बजेबाट मतगणना गर्ने भनिए पनि विहान तीन बज्दा पनि मतगणना हुन सकेको छैन ।

प्रत्यासीका प्रतिनिधि मतगणना स्थलमा नआएको भन्दै केन्द्रीय निर्वाचन समितिले आचार संहिता बनाउन नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन समितिले मतगणना भएको चार घण्टा भित्रमा सभापतिको मत गणना सार्वजनिक गर्ने जनाएको छ ।  

कांग्रेसको विधान अनुसार सभापतिमा विजयी हुन कुल खसेको मतमा ५१ प्रतिशत ल्याउनै पर्ने प्राबधान भएकाले ५१ प्रतिशत मत नआए पनि मतदान गर्नु पर्ने छ । त्यही अनुसार पहिलो चरणमा सभापतिको मत गन्ने तयारी भइरहेको छ । सभापतिका कोही पनि प्रत्यासी नदेखिए पनि दुई बजेसम्म पनि गृहमन्त्री बालकृष्ण खाँड मतगणना स्थलमा भेटिएका छन् ।

नेतृत्व चयनका लागि कांग्रेसका कुल ४ हजार ७ सय ४३ मतदातामध्ये  ४ हजार ६ सय ७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधि गयल भएका छन् । अब कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत बढी मत अर्थात पहिलो चरणमा नै २३४० मत आवश्यक रहनेछ । 

२४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्हबाट  मतदान सुरु भएको थियो ।

कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । सभापति बाहेकका मतपत्र भने नेपाल प्रहरीको टोलीले पार्टी कार्यालय सानेपा पुर्याएको छ । सभापतिको छिनोफानो भएपछि मात्रै अन्य पदको मतगणना सानेपामा हुने छ । 

 महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछन् ।