काठमाडौँ l नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन्।
सभापतिमा दाबी गर्दै प्रचारलाई तीव्र बनाएका निधिले अकस्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।
चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु।’
उनले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या कोइराला र सिंहले मात्र छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन्। रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए।
उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गरे।