काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको तयारी पूरा भएको छ ।बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटनलगायतका कामको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
उनले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी सजावटका केही काममात्र बाँकी रहेको कांग्रेसले जनाएको छ ।
संयोजक पुडासैनीले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताए ।
पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताए । उनले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताए ।
संयोजक पुडासैनीले भने, ‘अब हामी तयारीको अन्तिम स्थितिमा पुगेका छौँ । मञ्च तीन चरणमा छ, पहिलोमा सांस्कृतिक सङ्घको कार्यक्रम हुन्छ जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुति दिने गरी व्यवस्था गरेका छौं ।
मञ्चको दोस्रो चरणमा पार्टीका शीर्ष नेता, अन्य पार्टीका शीर्ष नेता, विदेशी पाहुनालाई राख्नेछौँ ।
स्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौं । सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ ।
महाधिवेशनमा साढे तीन लाखदेखि चार लाख जना मानिस सहभागी हुन्छन् ।’ नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भोलि (शुक्रबार) देखि शुरु हुँदैछ ।