काठमाडौँ l नेपाली कांग्रेसको निर्वाचन समितिले चुनाव सम्बन्धी आचार संहिता सार्वजनिक गरेको छ। शुक्रबार सुरु हुने १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि संशोधित कार्यतालिका प्रकाशन गरेको छ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली मंसिर २४ गते बिहान १० बजे सार्वजनिक हुनेछ।
उम्मेद्वारी दर्ताका लागि २५ गते बिहान १० देखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको छ। उम्मेद्वारी मनोनयनको दर्ता उपर दावी विरोध जाँचबुझ २५ गते नै बेलुका ५ देखि ७ बजेसम्म, दाबी विरोध त्यही दिन बेलुका ७ देखि ९ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन राति ९ देखि १२ बजेसम्म हुनेछ।
त्यस्तै उम्मेद्वारी फिर्ता लिन मंगलबार बिहान ११ बजेसम्मको समय तोकिएको छ। उम्मेद्वारका अन्तिम नामावली प्रकाशान त्यही दिन दिउँसो १२ः१५ बजे हुनेछ भने मतदान भोलिपल्ट मंसिर २७ गते बिहान ७ बजेदेखि सुरु हुने घिमिरेले जानकारी दिए।
त्यस्तै निर्वाचत समितिले आचारसंहिता समेत जारी गरेको छ। जसअनुसार मतदान गर्दा महाविधेशन प्रतिनिधिले मोबाइल लैजान पाउने छैनन्।
उम्मेद्वारको पक्षमा भिजिटिङ कार्ड वितरण गर्न पाइए पनि ठूला खालका पम्पप्लेट निर्वाचन हुने स्थानको ५ सय मिटर वरपर राख्न पाइनेछैन। व्यक्तिगत लाञ्छना लगाउन आलोचना गर्न पनि रोक लगाइएको छ।
निर्वाचन समितिले पार्टी सभापतिको मतगणना मात्रै भृकुटी मण्डपमा तत्काल गर्ने भएको छ। अरु पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी कार्यालय सानेपामा राखेर गरिनेछ।
यदि सभापतिमा ५० प्रतिशत भन्दा मत ल्याउन नसकेमा दोस्रो चरणको चुनाव गर्नुपर्ने भएकाले मतदान स्थलमै तत्कालै गणना हुने भएको हो।