शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आफ्नो जीवन आहुति दिने वीर सैनिकहरूको अपमान भएन र चिफसाब ?

सोमबार, मंसिर २० २०७८

कम्तीमा पनि कल्याणकारी कोषको ५० प्रतिशत बैंक ब्याजको रकम पनि सैनिकका परिवारका लागि खर्च नगर्नु भनेको आफ्नो  जीवन आहुति दिने वीर सैनिकहरूको अपमान भएन र चिफसाब ?

काठमाडौँ l सर्वप्रथम नेपालको पवित्र, राष्ट्रको अति महत्वपूर्ण, शक्तिशाली र अझ सबैभन्दा धनी संस्था नेपाली सेनाको नेतृत्वको जिम्मेवारी सम्हाल्नु भएका प्रधानसेनापति प्रभुराम शर्मालाई सफल र देश जनता र राष्ट्रका सिपाही सबैको हितमा नेतृत्वदायी भूमिका रहोस् भन्ने शुभकामना दिन चाहन्छौं ।

आज २१ औं शताब्दीमा जसले देशको माटोको रक्षाको लागि एक आदेशमा आफ्नो जीवन नै आहुती दिन तयार रहने नेपाली सेनाको भूतपूर्व तथा बहालवाला जवानको आर्थिक अवस्था देख्दा ज्यादै मन भक्कानिएर आउँछ ।

अझ यस दशैंको माहोलमा देशका विभिन्न वित्तीय संस्था  अन्य व्यवसायका कर्मचारीहरूले हँसिलो मुद्रामा दशैं पेस्की र बोनसको गीत गाइरहँदा आज अवकाशप्राप्त तल्लो दर्जाका सैनिकहरू दशैंमा बालबच्चालाई पालनपोषण र दशैं मनाउन आर्थिक अवस्थाले गिजोलिरहँदा भक्कानिएका छन् ।

जसले आफ्नो ज्यानको प्रवाह नगरी देश र विदेशमा रगत र पसिना बगाए आज उनै सैनिकको दयनीय अवस्थालाई हेडक्वार्टरमा रहेको नेपाली सेनाको कल्याणकारी कोषका निर्देशक जर्नेलको आँखाले किन देख्दैन ? किन कल्याणकारी कोष भनेको दुःख र अप्ठ्यारोमा परेका भूपू तथा बहालवाला सैनिको हितको लागि जवानको रगत र पसिनाको मूल्यलाई सिञ्चित गरेको कोष हैन ? चिफसा’ब ? के अब सेनाको आँखा ठूलठूला हाइड्रोपावर र बिजनेश महलहरूमा लगानी गरी नाफा कमाउन अगाडि बढ्न खोजेको भने पक्कै होइन होला ।

आज राजनीतिक दलका नेताहरूको आँखा सेनाको कल्याणकारी कोषको रु. ५५ अर्बतिर सोझिएको जस्तो महसुस सारा जवानहरूलाई भइरहेको छ । कुनै समय सैनिक कल्याणकारी कोषको रकम देश विकास र प्राकृतिक प्रकोपमा लगाउन सरकारले आदेश नदेला भन्न सकिंदैन । किनकि सरकारको ढुकुटी चाहिं नेताहरूले भ्रष्टाचार गरेर सकेपछि उनीहरूको ध्यान जहाँ पैसाको पोको छ, त्यहाँ जानु स्वभाविक पनि हो ।

आज विश्वको कयौं देशमा सैनिकको परिवारको पालनपोषण र शिक्षा, स्वास्थ्यमा कार्यरत सैनिकहरूले चिन्तित लिनुपर्दैन तर नेपालमा भने सँधै सैनिकलाई आफ्नो छोराछोरी पढाउन नसकिने र शिक्षा, स्वास्थ्य  चिन्ताले पिरोलिरहन्छ ।

के कोषको अर्बाैं रकमको बैंकको ब्याजले सयौं सैनिकका परिवारका बालबच्चालाई आर्मी स्कूलमा पढ्ने व्यवस्था मिलाउन सकिंदैन र ? सेनासँगै स्कूल कलेजका लागि जग्गा नभएको पनि त हैन । कम्तीमा पनि प्रत्येक प्रदेशमा २ वटा र काठमाडौंमा १० वटा सैनिक स्कूल खुलेमा आज नेपाली सेनाका जवानहरू आफ्ना बालबच्चालाई साधारण नेपाली जनता झैं पढाउन सक्थे ।

काठमाडौंमा आर्मी क्याम्प नजिक २, ४ रोपनी जग्गामा पनि त स्कूल सञ्चालन गर्न सकिन्छ । जसले १ बाहिनी महाराजगंज, खरिपाटी, सूर्यविनायक, लगनखेल, सीतापाइला, थानकोट, त्रिपुरेश्वर, धुलिखेल, पाँचखाल सैनिक इलाकाको एक छेउमा केही रोपनी जग्गामा स्कूल र अस्पतालहरूको विस्तार गर्न सकिंँदैन र चिफसाब ? के हाम्रो रगत र पसिनाले सुसज्जित कोष ५५/५६ अर्बको रकमबाट आर्जित ब्याज सेवामूलकबाट नाफामूलकतिर जान लागेको हो र ? होइन भने सबै जनशक्ति परिचालन गरी हजुरको कार्यकालभित्र नै सबै बहालवाला तथा भूतपूर्वका छोराछोरीलाई शिक्षादीक्षाको लागि चिफसाबको कदम अगाडि बढेमा तपाईंको नाम नेपाली सेनाको इतिहासमा स्वर्ण अक्षरले लेखिने नै छ ।

आखिरी पुरै निशुल्क पढाउन पनि भनेका हैंनौं । बाहिरका निजी स्कूलहरू धेरै नाफामूलक जनता लुट्ने भएर हामी सैनिकको आर्थिक अवस्थाले नधान्ने भएर नै हामीले अनुरोध गरेका हौं । आफूले नै जम्मा गरेर देशको सबैभन्दा धनी संस्थामा पु¥याउँदा पनि आज सैनिकका छोराछोरी चर्काे र महंगो स्कूलमा पढाउन बाध्य छन् । लुटतन्त्र मच्चाएका निजी स्कूलहरूमा महँगो शुल्क तिरेर पढाउन हामी सैनिकका लागि कहिलेसम्म सम्भव होला ? बहाल वाला सैनिककाे महिनामा २०/२२ हजार तलब र भूपूको १२, १४ हजार पेन्सनले बच्चालाई पढाउन त के आहारा पनि पु¥याउन गाह्रो छ ।

यस्तै आर्थिक अवस्थाले घेरिएर आज हजारौं सैनिक १२, १५ वर्षको जागिर छोडेर विशवका कयौं खाडी र द्वन्द्वग्रस्त मुलुकमा गई आफ्नो वीरतालाई विदेशमै विसर्जन गर्न बाध्य भएका छन् । हो, विकास र समृद्धि एकैपटक हुने कुरा होइन, क्रमिक रुपमा हुने कुरा हो । तर के आज नेपाली सेना १, २ वटा स्कूल र १, २ वटा अस्पतालमा मात्र सेवा दिन विवश छ । त्यत्तिको लगानी त आज साधारण बैंक र वित्तीय संस्थाले पनि गरिरहेका छन् ।

कम्तीमा पनि कल्याणकारी कोषको ५० प्रतिशत बैंक ब्याजको रकम पनि सैनिकका परिवारका लागि खर्च नगर्नु भनेको आफ्नो  जीवन आहुति दिने वीर सैनिकहरूको अपमान भएन र चिफसाब ? प्रत्येक प्रदेशमा २ वटा सैनिक स्कूल र अस्पताल, काठमाडौंमा १० वटा जति स्कूल र १० वटा जति अस्पतालमा सेनाको कोषमा भएको रकमको बैंकबाट प्राप्त ब्याज लगानी गर्न अपुग भएर हो र ?

आज जवान र विल्लादार सैनिकहरूले दशैं मनाउन नसकेर साहुकहाँ ऋण माग्न जानुपर्ने अवस्थाको स्थिति के नेतृत्व तहमा रहनुभएका जर्साब र चिफसाबहरूको उचित ध्यान नजानु र सही निर्णय नहुनु हैन र ? सैनिक स्कूलहरू र अस्पतालहरू विस्तार भए  हजारौं दक्ष  भूतपूर्व सैनिकले पनि फेरि आफ्नो संस्थामा काम गर्ने अवसर पाउँथे र विदेश गएर आफ्नो परिवारबाट टाढा बस्न पर्दैनथ्यो । आफ्नै माटोमा सेवा गर्न सकिन्थ्यो । आज अर्बाैं रकम बैंकमा लगानी गरी ब्याज लगाएर कमाएको मुनाफाले कसको हित गरिरहेको छ त चिफसाब ?

अबौंंबाट खर्बाैं त होला तर हजारौं सैनिकका आर्थिक अवस्थामा त त्यसले कुनै फाइदा पु¥याएन । आज सयौं संस्थामा कार्यरत कर्मचारी संस्था जत्तिकै आर्थिकरुपमा प्रगतिशील छन् तर विडम्बना नेपाली सेना मात्र आज यस्तो संस्थामा परिणत हुँदैछ कि संस्था देशकै सबैभन्दा धनी हुँदा संस्थामा आवद्ध सैनिक भने देशकै गरिबको सूचीमा परिणत हुँदैछन । यसको दोष र गुण भनेको नेतृत्वमा रहनुहुने तत्कालीन प्रधानसेनापतिहरू र हालका प्रधानसेनापति प्रभुराम शर्मा चिफसाबको पनि नाम जोडिन आउँछ । आज ठेलामा मम बेच्नेको पनि दिनको आयस्रोत २, ३ हजार छ । तर, हाम्रो अवस्था हातमुख जोड्न धौःधौ छ ।

विडम्बना नेपालको संवेदनशील र महत्वपूर्ण संस्था र देशको सबैभन्दा ठूलो कोष भएको धनी संस्थाको आयस्रोत एउटा मजदुरको भन्दा पनि कम छ । जम्मा ७, ८ सय दिनको तलबले सैनिका परिवारको पालनपोषण र शिक्षादीक्षाको लागि ज्यादै कष्टकर र दयनीय अवस्थातर्फ चिफसाबको ध्यान तत्कालै पुगोस् भनी हाी साँघु साप्ताहिकमार्फत अनुरोध गर्दछौं । होला, बहालवाला सैनिकलाई त सरकारले रासनको व्यवस्था गरेको छ । उसको परिवालाई त दिएको छैन नि । त्यसैले आशा छ हालका प्रधानसेनापति प्रभुराम शर्माले कोषमा भएको रकमलाई नाफामूलक भन्दापनि सेवामूलक र सम्पूर्ण सैनिक सन्ततिको हितको लागि महत्वपूर्ण कदम अगाडि बढाउनुहुनेछ भन्ने आज सारा सैनिकहरूले आशा र विश्वास लिएका छन् । जय होस् । धन्यवाद । –भूतपूर्व सैनिक हुद्दाहरू