शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उम्मेदवारी दर्ताबाट मात्रै ५० लाख उठ्यो !

शनिबार, मंसिर १८ २०७८

काठमाडौँ l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै प्यानल दर्ता गरेका छन्।

राप्रपा केन्द्रीय नेतृत्वको लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ।

महाधिवेशनमा उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको राप्रपाले जनाएको छ। मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित २६६ जनाले उम्मेदवारी दर्ता गर्दा उक्त रकम संकलन भएको राप्रपा नेता सुन्दर पाण्डेले जानकारी दिए।

चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ।

दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलोपटक हुन लागेको महाधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।

प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन्। शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका छ। निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारी र केन्द्रीय सदस्य लागि विद्युतीय माध्यमबाट मतदान हुने राप्रपाले जनाएको छ।