काठमाडौं। छोरीको उपचार गर्न अस्पताल पुगेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोभिड देखिएपछि अस्पताल भर्ना भएका छन्।
सर्वोच्च अदालतभित्र विवाद कायम रहेको र उनको राजीनामाको तिव्र माग राखी वकिलको आन्दोलन चलिरहेका बेला राणा अस्पतालमा छन्। तर उनले सर्वोच्चमा निमित्त वा कार्यबाहक प्रधानन्यायाधीश तोकेका छैनन्।
उनीविरुद्ध बरिष्ठतम न्यायाभीश दीपककुमार कार्कीलगायत नै रहेका कारण उनले निमित्त वा कार्यबाहक नतोकेका हुन्। तोक्नु परेको खण्डमा कार्कीलाई नै बरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने हुन्छ।
यता, सर्वोच्च अदालतको विवादमा मौन रहेको सत्ता गठबन्धनले प्रधानन्यायाधीश राणालाई कार्यबाहक तोकेर विदा बस्न सुझाव दिएको छ।
कोरोना संक्रमण भएपछि सशस्त्र प्रहरीको अस्पतालमा रहेका प्रधानन्यायाधीश राणाले कार्यबाहक तोकेका थिएनन्। सत्ता गठबन्धनले नेपाल बार एशोसिएशनका प्रतिनिधिसँग छलफल गरेपछि बालुवाटारमा विहीबार बसेको बैठकबाट यस्तो सुझावसहितको निर्णय गरेको हो।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले अहिले सर्वोच्चमा कार्यबाहक प्रधानन्यायाधीश नहुँदा समस्या भएकाले त्यस्तो सुझाव दिने निर्णय गरेको बताए।
तर सर्वोच्चमा बुधबारदेखि गोलाप्रथामा पेशी तोक्न थालिएका कारण कार्यबाहकको आवश्यक हुने या नहुने भन्ने विषयमा पनि सत्ता गठबन्धनमा चर्चा भएको थियो।