काठमाडौं । स्थानीय वायुको प्रभावका कारण देशका अधिकांस ठाउँमा आंशिकदेखि सामान्य बद्ली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यकामा तुवाँलो लागेको जनाएको छ । विभागका अनुसार अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन ।
वर्षा नभएसम्म मौसम सफा नहुने विभागको भनाई छ । अहिले प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ८ डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ