काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई व्यवस्थित गर्न चितवनमा विहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । चितवन प्रवेश गर्ने सवारी साधनहरुलाई नाकामा रोकिएको छ ।
पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल पठाइएको छ ।
पुल्चोक र गैंडाकोट जोड्ने पुलमा लहरै प्रहरी खटाइएको छ ।
यस्तै ट्राफिक प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ । मालवाहक सवारीसाधनलाई चल्न दिइएको छैन । अहिले चितवन क्षेत्रमा सवारी साधन ठप्प पारिएको छ ।
उद्घाट्न स्थल नारायणी नदी किनारमा लाखौ मानिस जम्मा भएका छन् ।
विभिन्न जिल्लाबाट आएका एमाले कार्यकर्ताहरु उद्घाट्न स्थलमा पुगिसकेका छन् भने चितवन र आसपासका जिल्लाबाट आएका सर्वसाधारण पनि नारायणी नदी किनारमा पुग्ने क्रम जारी छ ।