काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।
उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चारवटा सेल्फी प्वाइन्ट रहनेछन् । मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण भइरहेको छ भने त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वीको प्रतिमा समेत राखिने छ ।
स्थायी संरचनाका रुपमा बनाईने यि दुई प्रतिमाको लागत ५ लाख हुने श्रेष्ठले बताए । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।
उद्घाटनसत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट निर्माण गरिने छ भने दुईवटा ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।
नारायणी नदी किनारमा हुने उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने एमालेको अनुमान छ ।