काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको आज बिहान ४ बजेतिर विशालनगरस्थित एक केयर होममा निधन भएको परिवारले पुष्टि गरेको छ । शेर्पा पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य थिए ।
यसअघि अमेरिका, भारत र चीनमा समेत उनको उपचार गरिएको थियो । पछिल्लो दुई वर्ष यता भने सोही केयर होममा उनको उपचार भइरहेको थियो ।
लामो समयदेखि थलिएका शेर्पालाई गत सोमबारबाट विरामले निकै च्यापेको थियो । शेर्पाको आजै बौद्धस्थित शेर्पा गुम्बामा अन्तिम संस्कार गरिने उनका बुबा लामा पासाङ शेर्पाले जानकारी दिए ।
अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव समेत थिए । एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका महासचिव रहेका टेण्डी नेपाल बास्केटबल संघको अध्यक्ष पनि हुन् ।