काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा आफ्ना उम्मेद्वार कोही नभएको प्रष्ट पारेका छन् ।
संचारकर्मीसँग भएको साक्षात्कारमा अध्यक्ष ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताए ।
मिलेर सर्वसम्मती गर्नु राम्रो भएपनि आफुले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको हुने भएकाले आफु केहि नबोल्ने उल्लेख गरे । कसैलाई बसीदिनुस पनि नभन्ने अनि कसैलाई तपाई नउठी हुन्न उठ्नै पर्छ भनेर आफुले कर पनि नगर्ने ओलीको भनाइ छ ।
यद्यपी ओलीले सहमति भए राम्रो हुने विचार व्यक्त गरे । आफुले कसैलाई व्यवस्थापन गर्नु पर्ने नभएको जसले भोट जितेर आउछ त्यो नै आफ्नो पक्षको मान्छे हुने भन्दै लोकतन्त्रमा चुनाव हुनुलाई नकार्न पनि नहुने उनको भनाइ छ ।
अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका भीम रावलको उम्मेद्वारीका विषयमा सोधिएको प्रश्नमा ओलीले भने – रावलजीले म प्रति सद्भाव र स्नेहभाव देखाउनु भएकोमा उहाँलाई धन्यवाद, लोकतान्त्रिक पार्टीमा रावलजी उठ्न पाउने अधिकार छ । म उम्मेद्वार भए चुनौति दिन पनि पाइन्छ, मलाई निर्विरोध चयन गर्न पनि पाइन्छ ।
ओलीले अझै पनि आफुले अध्यक्षमा उठ्ने नउठ्ने घोषणा गरिनसकेकाले रावलजीको उम्मेद्वारी आफ्नालागि चुनौति नहुने जिकिर गरे । त्यस्तै ओलीले निस्कासित व्यक्तिहरुको गुटलाई एमालेले पार्टी नमान्ने बताउदै उनीहरुलाई महाधिवेशनमा बोलाउन आवश्यक नठानेको जवाफ फर्र्काए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर आफूलाई सिध्याउन खोजेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले माओवादीलाई झापामा महाधिवेशन गर्न आव्हान गरे ।