काठमाडौँ l नेकपा (एमाले) का सांसद तथा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उमेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
महाधिवेशनमा लामो समय योग्दान दिएका, समावेशी र नयाँ पुस्तालाई समेट्नुपर्ने उनले बताए । पूर्वमाओवादी, तत्कालीन माधवकुमार नेपाल निकट रहेकाहरुलाई पनि मिलाएर लैजानुपर्ने बताए ।
अध्यक्ष केपी शर्मा ओली निकट बस्नेतले हालसम्म अध्यक्षले कुनै पदमा उमेदवारी दिन नभनेको उल्लेख गरे । उनले अध्यक्षमा उमेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावललाई उमेदवारी फिर्ता लिन पनि आग्रह गरे । बस्नेतले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।
‘म दशौं महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिष्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए ।