काठमाडौँ । अर्थतन्त्रका अधिकांश बाह्य परिसुचक नकारात्मक रहँदा वैदेशिक लगानीमा भने आशातित सुधार आएको देखिएको छ । गत वर्षको तुलनामा यो वर्षको असोज मसान्तसम्म वैदेशिक लगानीमा ७३ दशमलव पाँच प्रतिशतले बृद्धि भएको छ ।
गत वर्ष महामारीका कारण उच्च मात्रामा बढ्न नसकेको वैदेशिक लगानी यो वर्ष भने केहि मात्रामा भने बृद्धि भएको देखिएको छ। वैदेशिक लगानी स्वीकृतिमा बृद्धि भएपनि सोहि मात्रामा मुलुकमा रकम भने आउन सकेको हुँदैन । तर राष्ट्र बैंकले सार्वजनिक गरेको यो आकडा भने मुलुकमा भित्रिएको रकमको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा ५ अर्ब ७ करोड लगानी भित्रिएको छ । गत वर्ष भने यस्तो प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रहेको थियो ।
सन् १९९० पछि नेपालमा लगानीमा निजी क्षेत्रलाई पनि खुला गरिएपछि वैदेशिक लगानी आउन सुरु गरेको हो । तर, यस्तो वैदेशिक लगानी भित्राउने क्रममा लगानीकर्ताले झन्झट ब्यहोर्नु परिरहेकाले लगानी आशातित रुपमा आउन सकेको छैन ।
जानकारहरु नेपालमा वैदेशिक लगानी भित्राउनका लागि सुरुवातमा प्रवेश, सञ्चालन र बाहिर निस्कन सहज हुनपर्ने बताउँछन् । वैदेशिक लगानी भित्राउनका लागि सुरुवातमा २१ दिनभित्रै लगानी स्वीकृत गर्ने परिबन्धको व्यवस्था गरेपनि पछिल्ला दिनमा विभिन्न सर्तहरु तेर्साएका कारण लगानी आशातित रुपमा आउन नसकेको हो ।
अन्य परिसुचक नकारात्मक हुँदा वैदेशिक लगानीमा आएको बृद्धिलाई सकारात्मक तरिकाले हेरिएपनि यो सन्तोषजनक अवस्था भने होइन । किनभने बाहिरिने मुद्राको तुलनाामा स्वदेशमा आउने यस्तो लगानी अत्यन्त न्युन भएकाले यसमा सन्तुष्ट हुने आधार छैन ।
लगानी भित्राउनका लागि नीतिगत रुपमा धेरै सुधार गर्नु जरुरी छ । नीतिगत अस्थिरताका कारण देशमा लगानी आउन सकेको छैन । जसको ज्वलन्त उदाहरण हो पछिल्लो समय चर्चामा रहेको एमसीसी । एक सरकारले स्वीकृत गर्ने र अन्य सरकारले त्यसलाई प्रंभावकारी कार्यान्वयन नगरि आलटाल गर्ने र ब्यक्तिगत स्वार्थका लागि लगानीकै बिरोध गर्ने प्रबृति छ । जसमा सुधार ल्याउन जरुरी छ ।