काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलित भएका सर्वोच्च अदालतका न्यायाधीशहरू तीन सातापछि नियमित मुद्दा हेर्ने गरी इजलास फर्किने भएका छन् । सर्वोच्चका न्यायाधीशहरू आज देखि नियमित सुनुवाइमा फर्किन लागेका हुन् ।
राणाको राजीनामाको मागमा अडिग रहेका भनिएका न्यायाधीशहरू सर्वोच्चमा गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने प्रक्रिया सुरु हुने भएपछि इजलास फर्किन तयार भएका हुन् ।
प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको उपस्थितिमा हिजो बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेसम्बन्धी नियमावली र निर्देशिका स्वीकृत गरेको छ ।
गोलाप्रथा प्रणाली लागू गर्नेसम्बन्धी निर्णयमा प्रधानन्यायाधीश राणाले हस्ताक्षर गरी राजपत्रमा सूचना प्रकाशित हुने भएपछि सर्वोच्चका न्यायाधीशहरु इजलासमा फर्किने निर्णयमा पुगेका हुन् ।
यसैबीच,
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज ३ बजेसम्म राजीनामा नदिए थप आन्दोनलन घोषणा गर्ने बताएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै उहालाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले आज ३ बजेसम्ममा राजीनामा दिन आग्रह गरेको हो ।