शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वोच्चमा आज फुलकोर्ट बैठक, गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने नयाँ कार्यविधि पारित हुने

बिहिबार, मंसिर २ २०७८

काठमाडौं । गोलाप्रथाको नियमावली र कार्यविधि स्वीकृत गर्न आज फुलकोर्ट बैठक बस्ने भएको छ ।  एक जना न्यायाधीश अनुपस्थित भएपछि हिजै बस्ने भनिएको फुलकोर्ट बैठक आज बस्न लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुबीच गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानमा सहमति जुटिसकेको छ । यहि सहमतिलाई अनुमोदन गर्न फुलकोर्टको बैठक बोलाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।

न्यायाधीशहरुबीच कार्यविधिका सबै बुँदामा दफाबार छलफल भएसँगै नियमावलीको कन्टेन्टमा पनि सहमति जुटेको बताइएको छ । फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भएपछि त्यसलाई राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।

लामो समयसम्म बेञ्च बहिस्कार गर्दा सर्वसाधारण नागरिकमाथि पर्न गएको असुविधालाई ध्यानमा राख्दै न्यायाधीशहरु नयाँ कार्यविधि मार्फत इजलासमा फर्कन लागेका हुन् ।

न्यायाधीहरुको हिजोको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा रहेका न्यायाधीशहरुको पनि सहभागिता रहेको थियो ।

बैठकमा  नेपाल बार एसोसिएसनको आन्दोलनलाई साथ दिदै मुद्दा पनि हेर्ने निर्णय भएको हो । इजलासमा फर्किए पनि न्यायाधीशहरुले  प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागलाई भने नछाड्ने बताएका छन् ।

त्यस्तै उनीहरुबीच प्रधानन्यायाधीशसँग  बेन्च सेयर नगर्ने समझदारी पनि  भएको छ ।

न्यायाधीशहरूका अनुसार कार्यविधिमा एकल इजलास, संयुक्त इजलासदेखि सबै इजलास र सबै मुद्दाको गोला तान्ने र गोला तान्दा जे पर्छ त्यसैमा सुनुवाइ गर्ने विषय उल्लेख छ ।

न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना, हरि फुयाल र नहकुल सुवेदी सम्मिलित कार्यदलले अस्ती मंगलबार गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार तयार गरेको थियो ।

 कार्यविधि पास भएपछि दशकौँदेखि प्रधानन्यायाधीशले इजलास तोक्ने परम्पराको अन्त्य हुनेछ भने न्यायाधीशहरु स्वयंले गोला झिकेर इजलासमा बस्न पाउने नयाँ प्रक्रिया सुरु हुने छ ।