काठमाडौँ । स्वदेशबाट बिदेशमा जाने कामदारको संख्या ह्वात्तै बढेको छ । महामारीका बिचमा पनि बिदेश जाने कामदार बढ्दा त्यसले मुलुकलाई भने लाभ मिल्न सकेको छैन ।
बिदेश जाने कामदार बढ्दा पनि रेमिट्यान्स भने घटेको छ। अवैध बाटोबाट मुलुकमा रकम पठाउने अर्थात हुण्डी फस्टाएपछि रेमिट्यान्स घटेको हो ।
असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३ सय १६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।
गत वर्ष बिदेश जाने कामदार घट्दा देशमा भित्रने रकम भने घटेको थियो । तर, यसपालि कामदार बढ्दा रकम बढ्नु पर्नेमा उल्टै घटेको छ ।
पछिल्लो समय आयात बढ्दै गएको छ । आयात बढ्दै जादा यसको असर भने रेमिट्यान्समा परेको छ । सामान खरिदमा अंन्डर इन्भ्वाइस गरेर खरिद बढेकाले स्वदेशमा आउनुपर्ने रकम बिदेशमै रोकिएको जानकारहरु बताउँछन् ।
नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार असोजमसान्तसम्म विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई २ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।
यता रेमिट्यान्समा आएको कमिको सोझो असर भने विदेशी विनिमय सञ्चितीमा परेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको देखिन्छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ सार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।