काठमाडौँ l नेकपा एमालेका नेताहरुले १०औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भन्दै आएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प जस्तै देखिन्छन् ।
तर सहमतिमा अन्य पदाधिकारी को–को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरुको व्यवस्थापन कसरी होला भन्ने चासो देखिएको छ ।
महाधिवेशनबाट अध्यक्ष पदमा ओली सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ । उपाध्यक्ष भीमबहादुर रावलले समेत अध्यक्षमा उठ्ने संकेत गरे पनि खुलिसकेका छैनन् ।
केही नेताले उपमहासचिव घनश्याम भुसाल अध्यक्षमा उठ्ने हुन कि भन्ने संकेत गरेका छन् तर उनी पनि यसबारे बोलेका छैनन् । अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरु जुटेका छन् ।
महासचिव ईश्वर पोखरेलले १०औं महाधिवेशनबाट ओली नै अध्यक्ष हुने बताए । ‘यो महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ भन्ने मलाई लाग्छ,’ पोखरेलले भने, ‘यो अहिलेको पार्टीको आवश्यकता पनि हो । अझ देशकै आवश्यकता हो ।’ अरु पदमा भने सरसल्लाह र समझदारीले नै टुंगो लगाइने उनले बताए ।
उपाध्यक्ष रावलले भने, ‘मैले नगर कमिटीको बैठकमा बोल्ने क्रममा साथीहरुले केमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छु भनेर सोध्नुभयो । मैले केमा प्रतिस्पर्धा गर्दा राम्रो होला तपाईंहरुले नै राय दिनु न भनें । उहाँहरुले नै तपाईं अध्यक्षमा लड्नु राम्रो हुन्छ भन्नुभयो । मैले तपाईंहरुको भावना कदर गर्छु । काठमाडौं पुग्छु । सल्लाह गरेर निर्णय लिन्छु भनेको हो ।’
१० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष रावलले उम्मेदवारीबारे सल्लाह भइरहेको प्रतिक्रिया दिएका छन् । ‘नेतृत्वका विषयमा साथीहरुसँग छलफलकै सिलसिला चलिरहेको छ,’ उनले भने, ‘पार्टीले संस्थागत रुपमा के सोचेको छ ? त्यो पनि आउँला अनि मात्रै निर्णयमा पुग्छु ।’
चितवनमा मंसिर १०–१३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन् । २२५ केन्द्रीय सदस्य चयन हुनेछन् । १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित ४५ स्थायी समितिको व्यवस्था नयाँ विधानमा छ ।
पार्टी विधानले नेतृत्वमा ७० वर्षको उमेरहद तोकेको छ । ओली आगामी फागुनमा ७० वर्ष पुग्दैछन् तर मंसिरमै महाधिवेशन हुन लागेकाले ओलीलाई अध्यक्ष हुन विधानले छेक्दैन । निर्वाचित भइसकेपछि भने ७० वर्षे उमेर हद लागू नहुने प्रावधान विधानमा रहेको छ ।
ओलीसँग प्रतिस्पर्धा गर्ने अरु कोही नेता नभएका कारण यसपटक ओली सर्वसम्मत चयन हुने निश्चित जस्तै रहेको उनीनिकट नेता बताउँछन् ।
संसदीय दलका उपनेता सुवास नेम्वाङले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन लागिपरेको बताए । उनले भने, ‘सर्वसम्मति पनि लोकतन्त्रको ब्युटी हो । यसले पार्टीलाई एकढिक्का बनाउँछ । केन्द्रीय कमिटीसम्मै सर्वसम्मत गर्ने प्रयास हो ।’ चुनौती र अप्ठ्यारो भए पनि सहमतिमा नेतृत्व चयन गर्न सकिने नेम्वाङको विश्वास रहेको छ ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समझदारी र सहमतिमा नेतृत्व चयन हुने बताइन् । ‘अस्वस्थ प्रतिस्पर्धाले पार्टीमा अन्तरविरोध सिर्जना गर्छ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘सहमति पनि लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा नै हो । यसले पार्टीलाई एकजुट बनाउँछ ।’
एमालेले वडा, पालिकाका अधिवेशन पनि सहमतिमा गर्यो । अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि पनि सहमतिमै चयन गरेको छ । अब सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्ने एमालेको तयारी छ । अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायत नेताले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् ।
सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनबाट एमालेले एकढिक्का रहेको सन्देश दिन खोजेको छ । नवौंं महाधिवेशनमा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्यानल बनाएर चुनाव लडेका थिए । मतपत्रमा पनि प्यानलअनुसार उम्मेदवारको सूची बनाइएको थियो ।
अध्यक्षपछिको मर्यादाक्रममा रहने पद हो, वरिष्ठ उपाध्यक्ष । हालै विधान महाधिवेशनबाट एक वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको छ । यो पदमा महासचिव पोखरेल सर्वसम्मत हुने नेताहरु बताउँछन् । पोखरेलले आफू पुनः महासचिव नहुने बताइसकेका छन् । उनीबाहेक वरिष्ठ उपाध्यक्षमा अरु नेताको चर्चा चलेको छैन । केहीले वरिष्ठ उपाध्यक्षमा नेता रावलको नाम लिने गरेका छन् तर अध्यक्ष ओलीसँग दूरी बढेकाले उनको सम्भावना कम रहेको बताइन्छ ।
विधानमा ४ उपाध्यक्षको व्यवस्था गरिएको छ तर ३ उपाध्यक्ष पार्टीमै क्रियाशील छन् । रावलसहित अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।
ज्ञवालीलाई अनुशासन आयोग वा अन्य कुनैमा व्यवस्थापन गर्ने तयारी रहे पनि रावल र शाक्यको व्यवस्थापन कसरी होला भन्ने चासो रहेको छ ।
शीर्ष तहमा महिला १ जना मात्रै देखिएकाले शाक्य उपाध्यक्ष हुने निश्चितप्रायः रहेको नेताहरु बताउँछन् तर रावललाई उपाध्यक्षमा समेटेर लिने वा नलिने भन्ने अध्यक्ष ओलीमै भर पर्नेछ । १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै पछिल्ला दिन रावल ओलीसँग असन्तुष्ट देखिएका छन् । रामबहादुर थापा ‘बादल’ र सुवासचन्द्र नेम्वाङलाई पनि उपाध्यक्ष बनाउने चर्चा रहेको छ ।
नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित लालबाबु पण्डित पनि उपाध्यक्ष पदका आकांक्षी रहेका छन् । ‘नवौँ महाधिवेशनमै उपाध्यक्ष उठेर थोरै मत नपुगेको हो,’ नेता पण्डितले भने, ‘मेरो प्राथमिकता उपाध्यक्षमै हुन्छ । सरसल्लाह पनि गर्दैछु । सहमति भए त्यहीअनुसार हुन्छ । जे भए पनि पदाधिकारीमा उठ्ने छु ।’
केन्द्रीय सदस्य निरज आचार्यले पार्टी घेराबन्दीमा रहेका बेला सर्वसम्मत नेतृत्व चयन गर्नु राम्रो हुने बताए । ‘तर यो पक्षपातरहित हुनुपर्छ,’ नेता आचार्यले भने, ‘सर्वसम्मतिका नाममा हिजोको खेमा, जन्मकुण्डली हेरेर गरियो भन्ने त्यो आघात हुन्छ ।’
अध्यक्षपछिको कार्यकारी पद महासचिव हो । कम्युनिस्ट पार्टीमा महासचिव पदको थप महत्त्व पनि हुन्छ । विगतमा लामो समय महासचिव नै प्रमुख कार्यकारी पद थियो । एमाले छाडेका माधवकुमार नेपाल नै १५ वर्ष महासचिव रहेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीको हारपछि उनले महासचिव पदबाट राजीनामा दिएका थिए ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन नेकपा मार्क्सवादी र नेकपा माले मिलेर नेकपा एमाले बनेको थियो । दुबै पार्टीका नेता व्यस्थापनका लागि अध्यक्ष र महासचिवको व्यवस्था गरिएको थियो । अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी भएका थिए ।
२०४९ सालमा पाँचौं महाधिवेशनमा अध्यक्ष र महासचिव पदलाई निरन्तरता दिइयो । महासचिव भण्डारीको २०५१ जेठ ३ गते दासढुंगामा रहस्यमय निधन भएपछि नेपाल महासचिव भए । २०५१ सालमा मध्यावधि निर्वाचनमा ठूलो पार्टी भएर एमालेले अधिकारीकै नेतृत्वमा ९ महिनाको लोकप्रिय सरकार समेत चलायो । त्यसबेला अध्यक्ष अधिकारी भए पनि महासचिव शक्तिशाली थिए । २०५६ सालमा अधिकारीको निधनपछि एमालेले अध्यक्ष पद हटायो । महासचिव नै कार्यकारी प्रमुख बनाएको थियो ।
१० औं महाधिवेशनबाट महासचिवको जिम्मेवारी कसको काँधमा आउला भन्ने धेरैको चासो रहेको छ । महासचिव पोखरेलले आफू यो पदमा नदोहोर्याउने प्रस्ट गरिसकेका छन् । पोखरेल आठौं र नवौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए ।
सहमतिमै पदाधिकारी चयन हुने भएकाले अध्यक्ष ओलीको बढी रोजाइमा पर्नेले नै महासचिवको जिम्मेवारी पाउने नेताहरु बताउँछन् । अब यो जिम्मेवारी पाउनेलाई ओलीको उत्तराधिकारीका रुपमा पनि व्याख्या गर्न थालिएको छ । यो पदमा उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेलको चर्चा रहेको छ । सचिव पृथ्वीसुब्बा गुरुङ र नवौं महाधिवेशनमा महासचिवमा थोरै मतले पराजित सुरेन्द्र पाण्डे समेत आकांक्षी रहेका निकटस्थ नेताहरु बताउँछन् ।
पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपाका महासचिव थिए । उनी पार्टीका संगठन विभाग प्रमुख छन् । महासचिवमा उनको बलियो दाबेदारी देखिएको छ ।
ओलीका अर्का विश्वासपात्र पोखरेलको पनि बलियो सम्भावना रहेको नेताहरु बताउँछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत भइसकेका पोखरेल जनताको बहुदलीय जनवादको व्याख्याताकै रुपमा चिनिन्छन् । ओलीले विधान महाधिवेशनमा आफू बिसन्चो भएको भन्दै पोखरेललाई नै राजनीतिक प्रतिवेदन वाचन गर्न लगाएका थिए ।
‘ओलीले दुबै नेतालाई पदाधिकारीमा व्यवस्थापन गर्नै पर्छ र गर्छन् पनि,’ एक स्थायी समिति सदस्य भन्छन् । पौडेल महासचिव भए पोखरेल उपमहासचिव हुन सक्छन् । पोखरेल महासचिव भए पौडेल उपाध्यक्ष बनाउनुपर्ने अवस्थामा ओली रहेका छन् ।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र सचिव पृथ्वीसुब्बा गुरुङ समेत महासचिवको लाइनमा रहेका छन् । यी दुबै नेतालाई पदाधिकारीमा आवश्यक रहेको महसूस अध्यक्ष ओलीले गरेको उनीनिकट एक नेता बताउँछन् । गुरुङलाई सचिवमै दोहोर्याउन खोजे उनले उपाध्यक्षको दाबी गर्न सक्ने नेताहरु बताउँछन् । पाण्डेलाई पनि उपाध्यक्ष बनाउन सक्ने सम्भावना रहेको छ ।
यसपटक उपमहासचिवको संख्या घटाएर १ मात्र राखिएको छ । अघिल्लो विधानमा २ उपमहासचिवको व्यवस्था रहेको थियो । उपमहासचिवमा यो पटक खासै चर्चा छैन । घनश्याम भुसाल नै दोहोरिने सम्भावना पनि रहेको छ । १० बुँदे सहमति गरी पार्टीमै बसेका १० भाइलाई समेट्न पनि ओलीले भुसाललाई उपमहासचिव बनाउन सक्ने नेताहरु बताउँछन् । गुरुङ वा प्रदीप ज्ञवाली समेत उपमहासचिव हुनसक्ने नेताहरु बताउँछन् ।
एमालेले सचिवको संख्या बढाएर ७ पुर्याइएको छ । ९आंै महाधिवेशनमा ५ मात्रै थियो । सचिवमा समावेशीता पनि लागू हुनेछ । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, पृथ्वीसुब्बा गरी ५ सचिव छन् । उनीहरुमध्ये अधिकांश सचिवमा दोहोरिने छन् । सचिव समावेशी भनिएकाले महिला, जनजाति, मधेशी, दलितको प्रतिनिधित्व पनि गराउनुपर्ने भएको छ । त्यसका साथै युवा र पुराना नेतालाई समेट्नुपर्नेछ । जसमा महिलाबाट वृन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, दलितबाट छविलाल विश्वकर्मा, जनजातिबाट किरण गुरुङ, मधेशीबाट रघुवीर महासेठ सचिवका आकांक्षी देखिएका छन् । खगराज अधिकारी, विष्णु रिमाल, यमलाल कँडेल, भानुभक्त ढकाल, टोपबहादुर रायमाझी र लेखराज भट्ट समेत सचिवको आकांक्षी रहेका छन् ।
पदाधिकारीमा नअट्ने नेतालाई ४५ सदस्यीय स्थायी समितिमा समेटिने छ । स्थायी समिति एमालेको माथिल्लो कमिटी हो । रघुजी पन्त, केशव बडाल सत्यनारायण मण्डल, प्रभू साहलगायत नेता रहनेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार खबर छ ।