शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गोलाप्रथाबाट इजलास तोक्ने तयारी, फुलकोर्टको बैठकले अनुमोदन गरे आन्दोलित न्यायाधीश इजलासमा फर्किने

बुधबार, मंसिर १ २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै बेन्च बहिस्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरु इजलासमा फर्किने तयारीमा छन् ।

प्रधानन्यायाधीशले गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार भएसँगै न्यायाधीशहरु इजलास बहिस्कार नगर्ने पक्षमा पुगेका हुन् । सर्वोच्च अदालत नियमावली संशोधन गर्नका लागि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार भएसँगै आन्दोलित न्यायाधीशहरु इजलास फर्किने माहोल तयार भएको सर्वोच्च श्रोतको दाबी छ । 

सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, प्रकाश ढुंगाना, हरि फुयाल र नहकुल सुवेदी सम्मिलित कार्यदलले  गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने कार्यविधि तयार तयार गरेको छ ।  यो कार्यविधि अनुमोदनका लागि आज फुलकोर्टको बैठक बोलाउने तयारी भएको छ ।

कार्यविधि पास भयो भने प्रधानन्यायाधीशले आफु खुसी इजलास तोक्ने परम्पराको अन्त्य हुने छ  । नयाँ कार्यविधिले न्यायाधीशहरु आफैले गोला झिकेर इजलासमा बस्न पाउने व्यवस्था गर्ने छ । 

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनअनुसार सर्वोच्चमा देखिएको गतिरोधलाई समाधान गर्न खोजिएको हो ।  
सवोच्चमा गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा बहिस्कार गर्दै आएका छन् । 

प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिदिनुपर्ने माग गर्दै सर्वोच्चमा दिनहुँ प्रदर्शन हुदै आएको छ ।

 नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ । एसोसिएसनले हिजो साँझ तेस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ ।