काठमाडौँ l आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पतीको छानबिन हुनु पर्ने माग गरेका छन् ।
मंगलबार आन्दोलनलाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष चेण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले ‘भ्रष्टाचार गरेर कमाएको सम्पतीको छानबिन’ गरिनु पर्ने आवाज उठेको बताए ।
उनले भने, ‘हामी दोस्रो चरणको आन्दोलनको अन्तिम दिनमा छौँ । राजीनामा नआएसम्म आन्दोलन जारी रहन्छ। कुनै पनि हालतमा राजीनामा गराउन तेस्रो चरणको गर्छौँ । चोलेन्द्रको सम्पती छानबिन गरेर सार्वजनिक गर्नुपर्ने आवाज समेत उठेको छ।’
न्यायाधीशहरुसँग छलफल गरेर आन्दोलनका थप कार्यक्रम आउने उनले बताए । त्यसका लागि बार र सर्वोच्चका न्यायाधीशहरुबीच मंगलबार पनि छलफल जारी छ ।
बारको आन्दोनलमा वरिष्ठ अधिवक्ता सविता बरालले आफूहरुको आन्दोलनमा वाइसिएल छन् भन्ने गृहमन्त्रीको भनाइ झुट रहेको बताइन् ।
‘पैसा बाँडेर बारको आन्दोलनविरुद्ध अर्को आन्दोलन सुरु गरिएको छ। न्यायालय सुधार अहिलेका लागि मात्रै होइन भविष्यका लागि पनि हो’, उनले भनेकी छन् ।
यस्तै वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपानेले प्रधानन्यायाधीश राणा एक मिनेट पनि पदमा बस्न योग्य नरहेको बताए।