काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसगै विभिन्न समिति र उपसमिति गठन गरिएका छन् । महाधिवेशन लक्षित ति समितिले व्यवस्थापकीय कार्य निर्वाह गर्ने छन् ।
महाधिवेशनकालागि तीन साता मात्रै बाकी रहदा कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको हो ।
देउवा नेतृत्व समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, सङ्घीय संसद्का सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू सदस्य छन् ।
केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य र सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ ।
नेपाल भूतपूर्वसैनिक सङ्घका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र पार्टीको काठमाडौँ जिल्ला सभापति संयोजक र ललितपुर एवं भक्तपुर जिल्ला सभापति सदस्य रहेको उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत तीन हजार रुपैँया बुझाउनुपर्ने छ ।
बैठकले आयरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, बेलायत, साइप्रस, पोर्चुगल र क्यानाडास्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने निर्णय गरेको छ ।
यसैगरी मुलुकका सात प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्न प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ । त्यसका लागि प्रदेश नं १ मा नेता कृष्णप्रसाद सिटौला, प्रदेश नं २ मा नेता रमेश रिजाल, वाग्मती प्रदेशमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा नेता बालकृष्ण खाँण, कर्णाली प्रदेशमा नेता जीवनबहादुर शाही र सुदूरपश्चिममा नेता दिलेन्द्रप्रसाद बडूलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
पहिलोपटक गर्न लागेको पार्टीको प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ गर्ने अधिवेशन कार्यतालिका छ ।