काठमाडौं । नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई नै फेरि चयन गरेको हो ।
कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको सङ्ख्या थपेर ८१ पु¥याएको छ । आगामी पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको प्रवक्ता कुमार बेलबासेले जानकारी दिए ।
महाधिवेशनले नेपालले अहिले अवलम्बन गरेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भएको जिकिर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ । उसले विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ ।
मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको छ ।
त्यस्तै मालेले सांसद्लाई मन्त्री बन्न नहुने विधानमा उल्लेख गरेको छ । नेपाली मोडलको सङ्घीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो ।