काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुईवटा बाघकालागि वर्षेनी एक लाख रुपैँया खर्चिदै आएका छन् ।
न्यायलयमा देखिएको गतिरोधका कारण अहिले समाचारको केन्द्रमा रहेका प्रधानन्यायाधीश राणाले सदर चिडियाखाना जावलाखेलमा रहेका दुईवटा बाघका लागि वार्षिक एक लाख रुपैँया बुझाउदै आएका हुन् ।
कोभिडपछि आम्दानीको स्रोत गुमाएको चिडियाखाना प्रशासनले त्यहाँका पशुपन्छी जोगाउन भरणपोषणका लागि सार्वजनिक अपिल गरेको थियो ।
सोही अपिल पछि राणाले दुईवटा बाघको भरणपोषणका लागि वर्षको एक लाख रुपैँयाको जिम्मेवारी लिएका हुन् । राणा आफुलाई बाघप्रेमी बताउने गर्छन् । चिडियाखानाको अपिल पछि राणाले मात्रै होइन अन्य हाइप्रोफाइलले पनि त्यहाँका जीवजन्तुको प्राण धान्न सहयोग गरेका छन् ।
गैँडाको खानपीनको सबै जिम्मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् । उनले गैँडाकालागि वार्षिक दुई लाख रुपैँया चिडियाखानालाई बुझाएको सदर चिडियाखानाका संचार अधिकारी लीना चालिसेले जानकारी दिइन् ।
चालिसेका अनुसार पर्यटनमन्त्री प्रेम आलेले हात्तीकालागि वार्षिक एक लाख बुझाउदै आएका छन् भने अन्य कर्पोरेट संस्थाले समेत अन्य जनावरको जिम्मेवारी बहन गरेका छन् । कोभिडका कारण आर्थिक जोहो गर्न समस्या भएपछि चिडियाखानाले जनावरको पालनपोषणकालागि सार्वजनिक अपिल गरेको थियो ।
अहिलेसम्म ५४ जनाले भरणपोषणको जिम्मा लिएका छन् ।
चिडियाखानाका सबै जीवजन्तुको आहारकालागि वार्षिक दुई करोड लाग्ने चालिसेले बताइन् ।