काठमाडौं । मुलुकभर चिसो बढ्दै गएको छ । वायुको तापक्रम दिनहुँ घट्ने क्रममा रहेकाले चिसो बढेको हो । मुलुकका हिमाली जिल्लामा माइनस ५ दशमलव शून्य डिग्रीमा झर्न थालेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच भन्दा तल झरेपछि चिसोले त्यहाँका स्थानीयवासीलाई सास्ती भएको छ । दिनभर घाम लागे पनि बिहान बेलुका धेरै जाडो बढेको जुम्लाको तिला गाउँपालिकाका स्थानीयवासी धनराज रावतले बताए ।
चिसोका कारण पहाडी भेगमा बालबालिका, सुत्केरी महिला र बृद्धबृद्धालाई निकै गाह्रो भएको छ । जुम्लामा बिहान र बेलुका बढी चिसो भएकाले घर आँगनमा आगो बालेर बस्ने गरेको स्थानीय रतन रोकायाले बताए ।
यसैबीच, देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।