काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज पनि अवरोधकैबीच सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर आज पनि सर्वोच्चमा धर्ना दिएका छन् ।
उनीहरुले गएको शुक्रवार पनि जबरालाई अदालत प्रवेश गर्न रोकेका थिए । तर उनी अर्को गेटबाट भित्र छिरेका थिए । शुक्रवार जस्तै आज पनि प्रधानन्यायाधीश जबरा वैकल्पिक बाटो हुँदै छिरेका हुन् ।
अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका छन् । यसैबीच बारले धर्ना र प्रदर्शन गरेका बेला प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतमा आज १० वटा इजलास तोकिएको छ ।
उनले आफ्ना लागि भने कुनै इजलास पेसी तोकेका छैनन् । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । अदालतमा इजलास बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।