शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुरक्षाकर्मी परिचालन गरेर सर्वोच्चको गेट बन्द, आन्दोलनरत वकिल र प्रहरीबीच घम्साघम्सी

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौं । नेपाल बार एशोसिएसनको आन्दोलनलाई मत्थर बनाउन सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजनालाई असफल बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एशोसिएसनले आरोप लगाएको छ ।

महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।

सर्वोच्च परिसरमा दंगा नियन्त्रण गर्ने उपकरणसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।  
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् ।

हिजोको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने बताएको थियो । सोही अबरोधलाई असफल बनाउन सुरक्षाकर्मी परिचालन गरेर न्यायकर्मीमाथि बल प्रयोग गरेको एशोसिएसनको आरोप छ ।

एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अदालतको ढोका बन्द गरेर प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले दमनकारी भूमिका निर्वाह गरेको आरोप लगाए ।