काठमाडौं । नेपाल बार एसोसिएशनले बन्दीप्रत्यक्षीकरणका मुद्दा समेत बहिस्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने जनाएको छ ।
सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित भएका वकिलहरुले आज बिहान १० बजे अघि नै भेला भएर आन्दोलन गर्ने जनाएको हो । बार एसोसिएशनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकालेर सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नेपाल बार एसोसिएशनमा उपस्थित हुन निर्देशन दिइसकेका छन् । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्ने भन्दै बारले चेतावनी दिएको छ ।
सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि बारले अपिल गरेको छ ।
त्यस्तै बारले देशभरका अदालतमा कुनै पनि मुद्दामा बहस नगर्न कानून व्ययवसायीहरूलाई आह्वान गरेको छ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि सर्वोच्चमा आन्दोलन भइरहेको छ । आन्दोलनकै कारण सयौँ मुद्दाको सुनुवाइ प्रभावित बनेको छ । राजीनामा नदिने प्रधानन्यायाधिशको अडान, ईजलासमा नबस्ने न्यायाधिशहरुको हठ्ले अहिले सर्वोच्च संकटमा परेको छ । प्रधानन्यायाधिश र कानुनव्यवसायी बीचको द्वन्द्व मत्थर हुने भन्दा पनि चर्किदो छ ।
कानुन व्यवसायी माग पूरा नभएसम्म आन्दोलनबाट नफर्कने बताउँछन् ।
यसअघि हिजो धर्ना दिन सर्वोच्च प्राङगण पुगेका कानुन व्यवसायीलाई प्रहरीले अवरोध गरेको थियो । कानुन व्यवसायीमाथि प्रहरीले धरपकड गरेपछि उनीहरुले सर्वोच्चभित्रै नाराबाजी गरेका थिए ।
प्रहरीको धरपकडमा परेर बारका महासचिव लीलामणि पौडेलसहित ६ जना कानून व्यवसायी घाईते भएका छन् ।
प्रधानन्यायाधीश राणाकै निर्देशनमा कानुन व्यवसायीहरुमाथि आक्रमण भएको भन्दै नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधिशलाई सर्वोच्च अदालत प्रवेशमानै रोक लगाउने घोषणा गरेको हो ।