शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजदेखि राष्ट्रिय जनगणना सुरु

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ l राष्ट्रिय जनगणनाको औपचारिक सुरुवात बिहीबारदेखि हुँदैछ। बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणनाअन्तर्गत १२ औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात गर्नेछिन्। त्यसलगत्तै देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। कोरोना भाइरसको महामारीका कारण यो वर्ष ढिला गरी गणना सुरु हुन लागेको हो। संघीय शासन व्यवस्था लागू भएपछिको यो पहिलो जनगणना हो।

‘मेरो गणना, मेरो सहभागिता’ मूल नाराका साथ राष्ट्रिय जनगणना अभियान हुँदैछ। आउँदो मंसिर ९ गतेसम्म मूल गणना सम्पन्न गर्ने तयारी छ। २०७९ सम्ममा जनगणनाको मुख्य प्रतिवेदन प्रकाशित गर्ने र २०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जनाएको छ। गणनाका लागि देशभर करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदैछन्।

जनगणनाका लागि करिब चार अर्ब खर्च लाग्ने अनुमान छ। यसपटक पूरा तलब दिएर गणक खटाइएको छ। यसअघिका गणनामा शिक्षकहरुलाई गणकका रुपमा प्रयोग गर्ने गरिएको थियो। उनीहरुलाई भत्ताको व्यवस्था गरिएको हुन्थ्यो। यसपटक भने तथ्याङ्क विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवाहरुलाई तलब दिएर गणकका रूपमा परिचालन गरेको छ।

योपटकको गणनामा ८० वटा प्रश्नावली रहेका छन्। लामो प्रश्नावली भएका कारण गणकलाई तथ्याङ्क संकलन गर्न धेरै समय लाग्ने जनाइएको छ। यसले खर्च पनि बढाएको विभागले जनाएको छ।