शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

छठ पर्व सुरु , निराहार ब्रत बसी खरनाको तयारी

मंगलबार, कार्तिक २३ २०७८

काठमाडौं । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज  बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा  ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो  ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।

आज बिहान स्नान गरी दिनभरि निराहार उपवास  बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।

आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।

पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् ।

यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अरख’ भनिन्छ ।