काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एक सुत्रिय राजीनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएशनले विरोधलाई थप ससक्त बनाउने तयारी गरेको छ ।
तिहारलगत्तै दोस्रो चरणको आन्दोलनको उद्घोष गरेको एसोसिएशनले आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन गर्ने जनाएको छ ।
बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायी सबैलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलन थालेको जनाएको छ ।
एसोसिएशनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनको भावी रणनीतिको लागि बारले हिजो देशभरिका एकाइका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।
उनीहरूको समर्थनमा बारले पनि सङ्घर्ष गर्दै आएको हो ।
यसैबीच, केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलास फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन् ।
उता,
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले भने अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको चाहना राखेका छन् ।
तीन सदस्यीय कार्यदलसँग राणाले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको सर्वोच्च स्रोतको दाबी छ ।
राणाले राजीनामा माग्ने मागलाई स्थगित गरेर आफ्नो सम्मानजनक विदाइकालागि न्यायाधीशहरुसँग आग्रह गरेको गरेको बुझिएको छ ।