काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिदै छन् । आज दिउँसो ३ बजे बोलाइएको प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले बताए ।
प्रस्ताव पेश भएसँगै आजै मतदान हुनसक्ने लम्सालको भनाई छ । यसअघि, एमालेका अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्न नसकेपछि विपक्षी गठबन्धनको तर्फबाट नेकपा एसका पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बाग्मती प्रदेशमा विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ। उनले विश्वासको मत सहजै पाउने देखिन्छ ।
विश्वासको मत लिएसँगै मुख्य मन्त्री पाण्डेले मन्त्रीपरिषद् विस्तार गर्ने बताएका छन् । गठबन्धन दललाई खुसी बनाउन पाण्डेले मन्त्रालय फुटाएर भएपनि सबैलाई चित्त बुझाउने तयारी गरेका छन् ।