काठमाडौं । सल्यान बस दुर्घटनाका मृतक १२ जना सबैको सनाखत भएको छ । दुर्घटनामा परी दाङका सात जना र सल्यानका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए ।
दुर्घटनामा परी दस महिला र दुई पुरुषको मृत्यु भएको हो ।
बस दुर्घटनामा दाङ, शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर– ६ कोरबाङका ५ वर्षीय सुरज वली, बबई गाउँपालिका– ४ की ६० वर्षीया डुली रेउले, बबई–६ पञ्कुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, घोराही उपमहानगरपालिका–१० की ३६ वर्षीया रुपा केसीको मृत्यु भएको छ।
शारदा नगरपालिका– १२ घर घई हाल दाङ, तुलसीपुर– ६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेको पनि दुर्घटनामा ज्यान गएको छ । त्यस्तै सल्यानको शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, शारदा–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका– १ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका– २ का २९ वर्षीय तिलक वली, त्रिवेणी ४ की ९ वर्षीया सरिता बोहोराले पनि दुर्घटनामा ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये केहीको सल्यानकै श्रीनगरमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि दाङ र बाँकेका अस्पतालमा रिफर गरिएको छ।
केहीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । बसमा तीस जना सवार थिए।
चालक अहिलेसम्म सम्पर्कबिहीन रहेको प्रहरीले जनाएको छ ।