काठमाडौं । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी यतिबेला छठ पूजाका सामग्री किनमेलमा ब्यस्त हुन थालेका छन् ।
जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा छठको सामान किन्नेको चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुदैछ ।
छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको स्थानीय बजारमा भिड लागेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटको अहिले अत्याधिक माग हुने गर्छ ।
त्यस्तै माटो तथा बाँसका सामग्रीको पनि माग उतिकै छ । छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।
घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम भइरहेको छ ।
भोलिदेखि सुरु हुने पर्व अन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ ।