काठमाडौं । नेपालमा आगामी साताबाट १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि पनि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ।
नेपाल सरकारले पहिलो चरणमा कात्तिक २८ गतेदेखि अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिन लागेको हो ।
सरकारले दोस्रो चरणमा ५० लाख बालबालिकालाई सोही खोप दिने जनाएको छ । अमेरिकामा भने यो खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइँदै आइएको छ । उत्पादक कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज लगाएको तीन सातापछि दोस्रो डोज लगाइन्छ ।
फाइजर खोप अन्य उमेर समूहजस्तै किशोर–किशोरीका लागि प्रभावकारी रहेको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ ।
फाइजर खोप लगाइसकेपछि अन्य खोपजस्तै पाखुरामा दुख्ने, रातोपना देखिने र सुन्निने समस्या आउनसक्ने उत्पादक कम्पनीले जनाएको छ । यो साइड इफेक्ट एक वा दुई दिनसम्म रहनसक्छ ।
पहिलो डोज खोप लगाए जटिल एलर्जीको समस्या आएमा दोस्रो डोज नलगाउन कम्पनीले आग्रह गरेको छ ।
कार्तिक २८ गतेदेखि दिन लागिएको फाइजर खोपका लागि काठमाडौं उपत्यकाभित्र ९ वटा र उपत्यका बहिर १५ वटा विशेषज्ञ सेवासहितका अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
उक्त खोप लगाउन थालेको १५ दिनभित्रै थप १ करोड डोज फाइजर र मोर्डनाको खोप ल्याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले बताएका छन्